कार्यक्रमका क्रममा प्रतिस्पर्धी मन्दीपले शोभराजसँग यौनसम्पर्क गरेको सन्दर्भमा सोधेको प्रश्नका कारण आफू तनावमा आएपछि मन्दीपले सार्वजनिक मञ्चमा त्यस्तो प्रश्न सोधेकोमा माफी मागेको निहिताको दाबी छ। निहिता र मन्दीप दुवै कलर्स च्यानलको रियालिटी शो बिगबोस सिजन फाइभका सहभागी हुन्।
निहिताले बिगबोसको पहिलो एपिसोडमै शोभराजसँगको भेट प्रेम र विवाहका सम्बन्धमा बेलिविस्तार लगाउन भ्याइन्, जुन कुरा केही समयपहिले 'साप्ताहिक' मा प्रकाशित उनको अन्तर्वार्तामा पनि उल्लेख थियो। शोभराजसँगै जेलमै टंगकिस -अधरपान) गरेको समाचारका कारण एकताका चर्चामा रहेकी निहिताले यौनसम्बन्धी प्रसंगमै शोभराजसँग यौनसम्पर्क नगरे पनि ऊ अत्यन्त प्रखर र आकर्षक भएको बताएकी थिइन्। आफूभन्दा ४० वर्ष जेठो भए पनि ऊ ३० वर्ष उमेर नकटेको जस्तो देखिने दाबी निहिताको थियो, जसबाट अहिलेसम्म शारीरिक सम्बन्ध नभए पनि शोभराजप्रतिको उनको यौन आकर्षण झल्कन्थ्यो।
भारतीय च्यानलको लोकपि्रय कार्यक्रम बिगबोसजस्तो ठूलो फोरम प्रयोग गर्दै निहिताले शोभराज निर्दोष भएको तथा नेपाल प्रहरीसँग ऊविरुद्ध कुनै ठोस मुद्दा नभएको जिकिर पनि गर्न भ्याइन्। निहितालाई बिगबोसमा सहभागी हुन अफर आएको विषयमा साप्ताहिकले यसअघि नै समाचार प्रकाशित गरिसकेको थियो। निहिता र शोभराजबीच तीन वर्षपहिले दसैँताका विवाह भएको दाबी गरिँदै आएको छ, जसलाई जेल प्रशासनले गलत बताएको थियो।
बाहिरिइन् निहिता
यसैबीच कलर्स टेलिभिजनबाट प्रसारण भैरहेको 'बिगबोस सिजन फाइभ' बाट निहिता विश्वास बाहिरिएकी छिन्। निहिता करिब एक सातासम्म मात्र बिगबोसको घरमा टिक्न सफल भइन्। बिगबोसको घरबाट बाहिरिने निहिता पहिलो प्रतिस्पर्धी हुन्।
बिकिनी किलरका रूपमा चर्चित चाल्र्स शोभराजकी श्रीमती निहिता विश्वास रियालिटी शो 'बिगबोस फाइभ' बाट निकालिएपछि तनावग्रस्त भएकी छिन्। निहिताले बिगबोसको घरबाट आफूलाई निकाल्ने फैसला सही नभएको तथा यो पक्षपातपूर्ण रहेको प्रतिक्रिया दिएकी छिन्। घरबाट बाहिरिएपछि निहिताले भनिन्— 'केही प्रतियोगीबाहेक बिगबोसको घरमा रहेका सबै प्रतिस्पर्धी अत्यन्त सहयोगी पाएँ। म आफ्नो श्रीमान् तथा आफ्नै बारेमा मानिसहरूबीचमा फैलिएको अन्यौललाई हटाउन चाहन्थें। यसमा म केही हदसम्म सफल पनि भएँ।'
निहिताका अनुसार उनलाई बिगबोसका निर्माताले धोका दिएका छन्। उनी भन्छिन्— 'घरबाट बाहिरिने पहिलो प्रतियोगीका रूपमा मेरो नाम सुन्दा आश्चर्य लाग्यो। मलाई के विश्वास छ भने यो कार्यक्रममा पहिलेदेखि नै सबै कुरा तय थियो, अन्यथा मेरो स्थानमा पूजा मिश्र बाहिरिनुपर्ने थियो।'
निहिताका अनुसार कार्यक्रमका क्रममा चाल्र्स शोभराजसँगको यौनसम्बन्धका बारेमा उठेको जिज्ञासाले पनि उनलाई आश्चर्यमा पार्यो। 'त्यही पनि मैले हरेक जिज्ञासाको जवाफ दिने प्रयास गरें।' निहिता बिगबोस सिजन फाइभको उपाधि सञ्चारकर्मी मन्दीप बेल्वीले जित्नुपर्ने धारणा व्यक्त गर्छिन्। 'उनी सबैलाई सहयोग गर्छिन्,' निहिता थप्छिन्— 'पूजा बेदी र शक्ति कपुर पनि उत्तिकै प्रभावशाली प्रतिस्पर्धी हुन्।' रियालिटी शोको पहिलो साता निहिताको साथी प्रतियोगी श्रद्धा शर्मासँग वादविवाद पनि भएको थियो।